काठमाडौं । कुनै समय लागूऔषध दुव्यर्सनी बनेका र त्यसै कारण पाँच वर्ष काराबासको सजाय समेत भुक्तान गरेका एक युवा अन्ततः कविको जुनीमा प्रकट भएका छन् । भरतपुर, चितवनका उनै युवा अर्थात् मुकुन्द खलपात्रले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो जीवन भोगाइ समेत समेटिएका करिब दुई दर्जन कविता सुनाए ।
तथापि उनले निरन्तर सुनाइरहे :-
घाउ हो यो मेरो मुटु
यी सभ्यताका माम्रीहरुमा
समेटिन नसकेको
यी मान्छेहरुका चल्तीका
आचार—विचार, नीति–प्रीति
सबै झिङ्गा समान हुन्…
कार्यक्रम संयोजक असीम हमालका अनुसार भरतपुरमा थिएटर निर्माणार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उनले भने, ‘कविता वाचनको देशव्यापी अभियान नै सञ्चालन गर्ने योजना रहेको छ ।’ कवि भूपी शेरचनको ‘घुम्ने मेचमा अन्धो मान्छे’ शीर्षक कविताबाट आफ्नो एकल वाचनको आरम्भ गरेका कवि खलपात्रले नमस्ते सर, मिस हिमाल, क्यान्डीक्रस यथार्थ, ब्लोअप, झ्यालखानाको हावा, धूवाँ जिन्दगी, पोष्टमार्टम पृथिवी, रगतको कुरा लगायतका कविता सुनाए ।
प्राज्ञ श्रवण मुकारुङले कवि खलपात्रका कविताहरु अहिले लेखिइरहेका कविताभन्दा पृथक् स्वादका रहेको बताए । उनले भने, ‘मुकुन्द सच्चा कवि हुन्, जसले समाजका साना–मसिना लाग्ने विषयहरुलाई साह्रै सूक्ष्म रुपमा जीवन्त र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । यो नै उनको रचनाको शक्ति हो ।’
रङ्गकर्मी समेत रहेका कवि खलपात्रले अहिलेसम्म कतै पनि नछापिएका कविता राजधानीजस्तो ठाउँमा त्यसमा पनि प्रज्ञा प्रतिष्ठानको हलमा सुनाउँदा आफू शुरुमा हल्का नर्भस भएता पनि कविता वाचन गर्दै जाँदा आफूमा अद्भुत शक्ति आएको बताए । उनले भने, ‘म जेलमा पर्दा लागूऔषधको दुव्यर्सनी थिएँ, जेलबाट बाहिर निस्किँदा ती सबै त्यागेर कविताको दुव्र्यसनी बनेर निस्किएँ । अब मेरा लागि कविता र कला नै जिन्दगी हो ।