सुर्खेत, ६ फागुन । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशको कुल खाद्यान्न आवश्यक्ता तीन लाख ५० हजार ९९८ मध्ये वार्षिक तीन लाख २७ हजार ५७८ मेट्रिक टन उत्पादन हुने र अझै २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अपुग रहेको पाइएको हो ।
त्यस्तै, सुर्खेतमा ७७ हजार ६६० मेट्रिक टन आवश्यक्तामध्ये ७८ हजार ७३४ मेट्रिक टन उत्पादन गरेर एक हजार ७४ मेट्रिक टन सञ्चित गर्दै आएको छ । दैलेखमा खाद्यान्न आवश्यक्ता र उपलब्धता समान हुने गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालीकोट, मुगु र जुम्लामा आवश्यक्ताभन्दा कम खाद्यान्न उत्पादन हुने गरेको बताए ।
कालिकोटमा वार्षिक २९ हजार ७३९ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर १७ हजार ९६४ मेट्रिक टन अपुग भएर ११ हजार ७७५ मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ । जाजरकोटमा दुई हजार ९७, डोल्पामा दुई हजार ७८७, जुम्लामा सात हजार ३०, हुम्लामा आठ हजार २७३ र मुगुमा ५ हजार ४४४ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।
सचिव भारीले कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न आवश्यक्ताभन्दा उपलब्धता न्यून रहेको बताए । ‘कर्णालीका छ जिल्लामा उत्पादन हुने खाद्यान्न वर्षभरी खान नपुग्ने अवस्थामा रहेको छ,’ उनले भने, ‘आवश्यक्ताभन्दा कम खाद्यान्न उत्पादन हुँदा बालबालिकामा कुपोषणको समस्या छ ।’ प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपना ५४ दशमलव ५, ख्याउटेपना ७ दशमलव ५ र कम तौलको समस्या ३५ दशमलव ५ प्रतिशत रहेको जानकारी दिएको छ ।
त्यस्तै, छ वर्षदेखि ५९ महीनासम्मका बालबालिकामा रक्तअल्पता ४८, उचाइअनुसार बढी तौल दुई र प्रजनन उमेर ९१५–४९ वर्ष० का महिलामा हुने रक्तअल्पता ३५ प्रतिशत रहेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले पञ्चवर्षीय योजनाले खाद्य सुरक्षालाई प्राथमिकता दिएको बताए । मध्यकालीन खर्च संरचना, प्रथम पञ्चवर्षीय योजना र वार्षिक योजना आगामी आर्थिक वर्षदेखि लागू गरेर प्रदेशमा बहुक्षेत्रीय पोषण योजनालाई मूर्तरुप दिन सरकारलाई सुझाव दिइएको उनको भनाइ छ ।
उनले कृषि उत्पादन बढाउन सिचाइँ उपलब्धता बढाउनुको विकल्प नभएको बताए । कर्णालीमा हाल १५ प्रतिशत जमिनमा मात्र सिँचाइ उपलब्धता छ । निर्देशक समितिका अध्यक्षसमेत रहेका आयोगका उपाध्यक्ष रेग्मीले सुर्खेत र सल्यानमा बहुक्षेत्रीय पोषण योजना लागू गर्ने तयारी रहेको जानकारी दिए । रासस