बझाङ, १७ माघ । अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्बा थापाको छाउगोठ गत महिना जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘घरनजिकै मन्दिर छ, छाउगोठ भत्काएपछि सर्प आयो । घरनजिकै फराकिलो गोठ बनाएका छौं,’ उनले भनिन् ।
घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाएको उनले बताइन् । सोही गाउँकी शारदा थापाले ३० हजार खर्च गरेर नयाँ छाउगोठ बनाएकी छन् । ‘नयाँ गोठ पुरानो भन्दा राम्रो थियो, प्रहरी र जनप्रतिनिधिलाई नभत्काउनू भनेर आग्रह गर्दा पनि मानेनन् । घर साँघुरो भएपछि ऋण काढेर नयाँ बनाएँ’, उनले भनिन् ।
पातलकोट गाउँ छाउगोठ मुक्त घोषणा हुने तयारीमा छ । वडामा यसअघि १ सय २० छाउगोठ भत्काइएको थियो । एक महिनापछि अनुगमन गर्दा १७ वटा नयाँ छाउगोठ भइसकेको फेला पर्यो ।
नयाँ गोठ पनि प्रहरीले भत्काइसकेको छ । प्रहरी पुराना छाउगोठ भत्काउँदै हिँडेको छ । तर स्थानीय घरनजिकै धमाधम बनाइरहेका छन् । साँफेबगर नगरप्रमुख कुलबहादुर कँुवरले पुराना छाउगोठ भत्काएको एक महिनामा महिनावारी भएका बेला बस्नकै लागि पुनर्निर्माण गरिएका १७ गोठ भत्काइएको बताउँछन् । उनले भने, ‘पुराना र नयाँमा केही फरक छैन । महिनावारी भएका बेला बस्न भनेर बनाएका सबै भत्काएका छौं ।’ अन्नपूर्ण पोष्टबाट