सुर्खेत, १० माघ । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रवार विहानदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषदको वैठक सकिएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा वसेको वैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।
वैठकमा वोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवाशी वनाउने दायित्व सवैको भएको वताउनुभयो । उहाँले समृद्ध प्रदेशको एजेण्डामा सवैको एकता आवश्यक भएको वताउदै रचनात्मक रुपमा अघि वढनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण वनाउन सरकार गम्भीरतापुर्वक लागेको वताउदै ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने लक्षका साथ सरकार अघि वढेको वताउनुभयो ।
वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको वताउदै जिल्ला सदरमुकाम सम्म सडक नै नपुगेको वेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा राख्नुभयो ।
कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्यसञ्चालन० आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको आज सम्पन्न वैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सवै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।