माधवकुमार ओली
रोल्पा, २ माघ । अर्गानिक तरकारी उत्पादनमा राम्रो पहिचान बनाएको रोल्पाको माडीचौर क्षेत्र पछिल्लो समय शहरीकरणको चपेटामा पर्न थालेको छ ।
जिल्लामै पहिचान बनाएको माडीचौरको कृषिक्षेत्र शहरीकरणले संकटमा पर्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘पहिले भन्दा अहिले कृषि उत्पादनमा कमी आउन थालेको छ’ प्रगतिशील महिला कृषि सहकारी संस्था रोल्पा नपा–७ माडीचौरकी सचिव राधा पुनले भनिन्, ‘यसरी घना बस्ती विस्तार हुँदै जाने हो भने अब यहाँ कृषि गर्नै मुश्किल छ ।’
माडीचौरमा उत्पादित तरकारीले सदरमुकामसम्मको माग धानेको छ । यस्तै धान, गहुँ र मकैको बीउ जिल्ला बाहिर निकासी समेत हुने गरेको छ । अघिल्लो वर्षसम्म माडीचौरलाई कृषिको पकेट क्षेत्रको रूपमा विकास गर्ने भन्दै आएका स्थानीय जनप्रतिनिधिले समेत अहिले घना बस्ती विकासकोे योजना बनाएका छन् । रोल्पा नगरपालिकाले चालू यो कार्यक्रमकै लागि बजेट विनियोजन गरेको छ । यद्यपि घना बस्ती विकासले तत्काल कृषि उत्पादनमा असर नपर्ने नगरपालिकाका प्रमुख पूर्ण केसीको तर्क छ । ‘हामीले कृषिसँगै घना बस्ती कार्यक्रम अघि बढाउने सोचमा छौं,’ उनले भने ‘यसले यहाँको पहिचान मेटिँदैन ।’
स्थानीयको सुझाव र आवश्यकताका आधारमा कुन ठाउँमा के कस्ता पूर्वाधार विकासका योजना बनाउने भन्नेमा सरकार गम्भीर बन्नुपर्ने स्थानीय त्रिपनी घर्तीले औंल्याइन् । ‘घना बस्ती विकास पनि राम्रै हो,’ उनले भनिन्, ‘तर माडीचौर क्षेत्रमै बस्ती बसाल्नुपर्छ भन्ने भनाइ उचित होइन ।’ अभियानबाट