Indrenionline.com

धौवादी फलाम खानी उत्खनन तयारी

काठमाडौँ, २८ पुस । नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ ।

नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उनले उत्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिए ।

“नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ ”, उनले भने ।

सरकारले नवस्थापित सो कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई नियुक्त गरिएको छ । काठमाडौँस्थित खानी तथा भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना भई थप काम अगाडि बढिसकेको छ आजको गोरखापत्रमा खबर छ।