Indrenionline.com

उखु किसानको सरकारी अनुदान समेत खाइदिएपछि………….

काठमाडौं, १६ पुस । चिनी उद्योगीहरूले किसानको उखुको मूल्य मात्रै होइन, सरकारले किसानका नाममा निकासा गरेको अनुदानको रकमसमेत खाइदिएका छन् ।

सरकारले किसानलाई प्रतिक्विन्टल उखुको ६५ रुपैयाँ २८ पैसा अनुदान दिन्छ । तर, अघिल्लो वर्ष यो रकम सीधै किसानलाई नदिएर उद्योगमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । तर, उखुको मूलधन नै नदिएका उद्योगले अनुदानसमेत हिनामिना गरेका छन् ।

आर्थिक वर्ष ०७४र७५ मा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानलाई अनुदान दिने निर्णय गरेको थियो । देशभर उत्पादन हुने दुई करोड क्विन्टल उखुका लागि छुट्याएको एक अर्ब २८ करोड रुपैयाँ अनुदान सरकारले सीधै किसानलाई नभएर जिल्ला भुक्तानी समितिमार्फत उद्योगलाई दिएको थियो । सरकारले अनुदान सीधै किसानलाई दिनुको सट्टा उद्योगीलाई दिएकाले किसान ठगिएका हुन् ।

किसानलाई सबैभन्दा धेरै सर्लाहीस्थित अन्नपूर्ण र महालक्ष्मी चिनी मिलले शोषण गरेका छन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ तोकेको थियो । जसमा ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र चार सय ७१ रुपैयाँ उद्योगले तिर्नुपर्ने थियो । तर, अन्नपूर्ण र महालक्ष्मी उद्योगले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ४७१ को सट्टा ४३५ रुपैयाँको मात्र भर्पाई दिएका छन् । त्यो पैसा पनि भुक्तान गरेका छैनन् । उखुको भुक्तानी पाएका किसानले पनि सरकारी अनुदान पूरा पाएका छैनन् । उद्योगले सरकारबाट नगदमै लिएको ६५ रुपैयाँ २८ पैसामध्ये ३३ रुपैयाँ आफूले राखेर ३२ रुपैयाँ २८ पैसा मात्र किसानलाई दिएका छन् ।

‘सरकारले दिएको अनुदानमा ३३ रुपैयाँ खाने मात्रै होइन, उद्योगले दिनुपर्ने रकममा पनि प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिएका छन्’, महालक्ष्मी चिनी मिलमा उखु किसानले गठन गरेको संघर्ष समितिका अध्यक्ष राम स्वार्थ रायले भने । दुवै मिलको महाप्रबन्धक भारतीय नागरिक केडी प्रसाद छन् । नयाँ पत्रिकाबाट