Indrenionline.com

सरकार बिरुद्ध जनतामा भ्रम छर्नेलाई कारवाही गर्ने नेकपाको चेतावनी

काठमाडौं, १५ पुस। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

स्थायी कमिटी बैठक पश्चात प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको छ ।

‘पार्टी र सरकारका बिरुद्ध भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित बोल्ने, लेख्ने, पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा बिकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउँनुपर्दछ ।’ अध्यक्षद्धय ओली र दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै निर्देशनमा पार्टी एकता प्रक्रियाका बाँकी काम १५ दिनभित्रमा सम्पन्न गर्न भनिएको छ । पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्नुपर्ने, संस्थागत निर्णय, बैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।

गुटबन्दी, घात–अन्तर्घात र अराजकताको प्रवृतिलाई परास्त गर्ने, आलोचना–आत्मलोचनालाई प्रोत्साहन गर्ने र पार्टीलाई सजीव तथा गतिशिल बनाउँनु निर्देशन गरिएको छ ।

सरकारले अनेकौं जटिलता, चुनौती र प्रतिकूलताका बाबजूद संविधान कार्यान्वयन, विकास निर्माण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक बृद्धि र बैदेशिक सम्बन्ध बिस्तार जस्ता मुलभुत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको अपानीमा भनिएको छ आजको राजधानीमा खबर छ।

मौलिक हकसम्बन्धी संबैधानिक व्यवस्था कार्यान्वयनका लागि आधार तयार गरिएको उल्लेख गर्दै नेकपाले स्वतन्त्र एवम सन्तुलित परराष्ट्र नीतिमार्फत छिमेकी लगायत अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्न सरकार सफल भएको छ ।