Indrenionline.com

प्यूठानका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित

प्यूठान, १४ पुस । खसीबोकाको मासुको माग र मूल्य समेत बढ्दै गएपछि प्यूठानका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् । जिल्लामा बाख्रापालनका लागि हावापानी उपयुक्त हुनुका साथै स्थानीय तहले समेत प्रोत्साहनका कार्यक्रम ल्याएपछि यस पेशामा युवाको आकर्षण बढेको हो ।

अन्य पेशा व्यवसायमा लागेकाहरूले समेत पछिल्लो समय बाख्रापालन शुरू गरेका छन् । यसैका उदाहरण हुन् माण्डवी गाउँपालिका–२ मर्काबाङका दलबहादुर खत्रीका तीन दाजुभाइ । शिक्षण पेशा छाडेर दलबहादुर सहित उनका भाइहरू बाख्रापालन पेशामा लागिपरेका छन् । गत ८ वर्षदेखि गाउँमा उनीहरू यो व्यवसाय गर्दै आएका छन् अभियान दैनिकमा राजेश जिसी लेख्छन्। खत्री दाजुभाइले सञ्चालन गरेका बाख्राफार्म अहिले जिल्लाकै नमूना मानिन्छ ।

३० ओटा बाख्राबाट शुरू भएको आफूहरूको ‘लेकाली बाख्रापालन फार्म’मा अहिले ३०० भन्दा बढी बाख्रा रहेको दलबहादुरले बताए । ‘आफ्नै गाउँको स्रोतसाधनको उपयोग गरी स्वरोजगार बन्ने प्रयास गरेका हौं,’ उनले भने । खसी–बोका विक्रीबाट वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको उनको भनाइ छ ।