Indrenionline.com

हामी एक इन्च पनि नेपाली भूमि मिच्न दिँदैनौँ

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् । नेपालको कालापानी क्षेत्रसमेत समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भइरहेका वेला पहिलोपटक उनले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउने बताए । उनले नेपाल–भारत सीमा विवाद नयाँ नभएको पनि जिकिर गरे ।

‘भारतले नक्सा सच्याएर मात्र हुँदैन । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ । यसका लागि हामी कूटनीतिक पहलका लागि सधैँ तयार छौँ,’ प्रधानमन्त्री ओलीले भने । नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गर्दै उनले भने, ‘हामी हाम्रो छिमकीसँग संवादबाट समस्या समाधान गर्न तयार छौँ । इतिहासले देखाइसकेको छ, यो सरकार राष्ट्रवादी छ ।’

भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको उनले बताए । ‘भारतले सीमा क्षेत्रमा अहिले ल्याएर सैनिक फौज राखेको भन्ने कुरा हल्ला मात्रै हो, सीमा अतिक्रमणको विरुद्धमा अहिले सबै दल र संघसंस्थाबाट देखिएको सक्रियता राष्ट्रियता रक्षाका लागि एकदमै सकारात्मक छ,’ उनले भने ।

यो सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैनौँ, अरूको पनि अतिक्रमण गर्दैनौँ । हाम्रो भूमिबाट छिमेकी मुलुकले आफ्ना सेना फिर्ता लैजाओस् । नयाँ पत्रिकाबाट