Indrenionline.com

रामपुरमा ५६ लाखको लागतमा तरकारी टनेल

बेझाड । पाल्पाको रामपुर नगरपालिकामा निर्माण भएको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा आकर्षण बढ्दो छ । पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गर्न थालेका छन् ।

यहाँ टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न संघसंस्था, व्यक्तिहरु टनेल हेर्न आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई नयाँ प्रविधि सिकाउनका लागि यहाँ टनेल निर्माण गरिएको हो ।

कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण भएको छ । प्रदेश सरकारको रू। २५ लाख सहयोग र रामपुर नगरपालिकाको रू। ३१ लाख गरी रू। ५६ लाखको लागतमा निर्माण गरिएको हो । टनेलभित्र तीन हजार गोलभेँडाका बिरुवा लगाइएको छ । समूहमा अवलोकन गर्न आउनेलाई रू। एक हजार शुल्क, प्रतिव्यक्ति रू। एक सय र विद्यार्थीका लागि रू। ५० टिकट कायम गरिएको छ ।

कृषिको व्यावसायिकीकरणतर्फ उन्मुख बन्दै गएको रामपुर नगरपालिका यतिखेर आधुनिक प्रविधिमा फड्को मार्न थालेको कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउछन् । टनेल निर्माण भएपछि दिनहुँ अवलोकन गर्न आउने जानेको संख्या बढ्दै गएको उनले बताए ।
‘ठूलो क्षमताको टनेल भएकाले धेरैले नौलो प्रविधि मान्दै अवलोकन गर्ने गरेका छन्, कृषि शाखाले दुईजना कर्मचारी नियमित रेखदेखमा परिचालन गरेको छ’, शाखाप्रमुख पाण्डेयले भने ।

नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजस्व बढाउने बताएको छ । यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरिएको खण्डमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ अभियानमा खबर छ।