लहान, २९ कार्तिक । सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोस्ट सञ्चालन गरिरहेको छ ।
भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार स्थानीयले रोके
भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दसगजामा भन्सार चेकपोस्ट र अर्धसैनिक बल एसएसबीको चेकपोस्ट सञ्चालन गर्दै आएको छ । नेपाल भारतको सीमाबिन्दुमा पर्ने जंगे खम्बादेखि १० गज उत्तर र १० गज दक्षिणतर्फको जमिन दसगजाको खाली रहनुपर्ने हो । तर, भारतीय पक्षले आफ्नोतर्फ सबै मिचेको छ भने नेपालतर्फको दसगजासमेत ओगटेको छ ।
‘भारतीय पक्षले खाली राख्नुपर्ने दसगजासमेत छोडेको छैन । ठाढीका स्थानीयले बनाएको कल्भर्टदेखि करिब ५० मिटर दक्षिणतर्फ भारतीय पक्षद्वारा निर्मित भारत नेपालमैत्री द्वारसम्म दसगजा क्षेत्र पर्छ,’ ठाढीका ६० वर्षीय रामआशीष पासवान भन्छन्, ‘करिब चार दशकअघिसम्म खाली रहेको दसगजा भारतीय पक्षले मिच्दै मिच्दै नेपालको बिन्दुसम्म आइपुगेको छ ।’
नेपालतर्फ दसागजा क्षेत्रमै गत फागुनको पहिलो साता भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाडीका बासिन्दाले रोकेका थिए । एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीय बासिन्दालाई भेला गराई दबाब दिएपछि निर्माण रोकिएको स्थानीय ५५ वर्षीय रामचन्द्र साहले बताए ।
सर्वेक्षण टोलीद्वारा अनुगमन
भारतीय पक्षको जबर्जस्ती रोक्न स्थानीय बासिन्दाले तत्काल जिल्ला र केन्द्रलाई गुहारेपछि ठाडीमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नं। २ धनुषा, जनकपुरबाट आएको टोलीले स्थलगत अनुगमन गरेको थियो । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले टोलीले ठाडीको विवादित सीमा क्षेत्रको वस्तुगत अवस्था अनुगमनपछि १० फागुन ०७५ मा लिखित प्रतिवेदन दिएको बताए । ‘भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रको दसगजा क्षेत्रमा बनाउन लागेको स्वागतद्वार नेपालको दसगजा क्षेत्रमा पर्ने व्यहोराको लिखित प्रतिवेदन दिएपछि १७ फागुनमा गृहमन्त्रालयलाई लिखित जानकारी गराइयो,’ प्रजिअ अधिकारीले भने । नयाँ पत्रिकाबाट