Indrenionline.com

आधा शताब्दी वित्दा सुस्तावासीको पीडा उस्तै

काठमाडौं, २७ कार्तिक । आधा शताब्दी भयो, सुस्तामा बस्ती बसेको । ०२२ सालमा आइपुगेका पाँच सयभन्दा बढी परिवारले सुस्ताको घना जंगललाई आवाद गराए ।

युगौँदेखिको बाँझो भूमिलाई तिनै परिवारले ऊर्वर बनाए । बालीनाली लगाएर हराभरा पारे । सुस्तामा आइपुग्ने पहिलो पुस्ताले निर्जन भूमिमा समाज बसायो । त्यसयताका चार पुस्ताले सम्पूर्ण जीवन सुस्तामै बिताएर यसलाई एउटा जीवन्त बस्ती बनाउन मिहिनेत गरिरहे । तर, यो नयाँ बस्तीको जीवनकथामा अनेक हन्डर ठक्करहरू जोडिएका छन् । आजसम्म आइपुग्दा यो सीमान्त बस्ती आफैँमा सास्तीको अर्को नाम भएको छ ।

नारायणी नदीमा गण्डक बाँध बनेपछि साँधमा अवस्थित यो भूमिका बासिन्दाले अनेकपटक अनेक दुःख झेलिरहेका छन् । ०२२ सालमा राजा महेन्द्रले बस्ती बसाउने भएपछि विभिन्न ठाउँबाट फरक–फरक रहनसहन भएका परिवारहरू सुस्ता आइपुगेका थिए  नयाँ पत्रिकामा खबर छ। किशोर गुरुङले बसाइँ आइपुगेका ती पाँच सय परिवारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा सुस्ताको जंगल क्षेत्रलाई आवाद गरिएको थियो । यहाँ आइपुग्नेमध्ये भूपू–सैनिकहरूको संख्या उल्लेख्य थियो । विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसलाई सरकारी तवरबाटै जग्गा उपलब्ध गराइएको थियो ।

सरकार चाहन्थ्यो– साँधछेउ बस्ती बसाएर देशको सीमारक्षा हुन्छ । यहाँ आइपुग्नेहरूलाई पनि लागेको थियो– सुस्ता आवादीले उनीहरूको जिन्दगीका अप्ठ्याराहरूलाई सहज बनाइदिनेछ । तराईकै आदिवासी थारू, पहाडीमूलका दलित तथा जनजातिलगायतको समुदाय मिश्रित ढंगले यहाँ बसोबास गर्न थालेको थियो । बस्ती बसेसँगै सुनसान सुस्तामा मान्छेहरूको चहलपहल र आउजाउ बढ्दै गयो । ०२२ सालमा आफ्नो परिवारसँगै नवलपरासीको पक्लिहवाबाट ११ वर्षको उमेरमा सुस्ता आइपुगेका बुद्धु खटिक भन्छन्, ‘यहाँ कस्तो रमाइलो हुन्थ्यो । घरैघर थिए । बजार थियो । सुस्ता त सहरैजस्तो पो थियो ’

गाउँमै निम्न माध्यमिक तहसम्म पढाइ हुन्थ्यो । चिठी आदान–प्रदान गर्न हुलाक कार्यालय थियो । जनताको जिउधनको सुरक्षा गर्न प्रहरी पनि राखिएको थियो । प्रशासनिक र राजनीतिक इकाइका रूपमा सुस्ता गाउँ पञ्चायत थियो । ठूलो हाटबजार लाग्थ्यो । मान्छेहरू आफ्नो उब्जनी लगेर त्यहीँ बेच्थे र आवश्यक सामान किन्थे । भारतीय नागरिकहरूसमेत बजार भर्न सुस्ता आउने गरेको अनुभव सुनाउँछन्, खटिक । भन्छन्, ‘उनीहरू आफ्नो सामान पनि बेच्न ल्याउँथे । यहाँ हाम्रा गाउँलेले बेच्न राखेका सामानहरू किन्थे ।’

०२२ सालदेखि नै सुस्तामा बस्दै आएका रामज्ञा मुसहरलाई पनि भारतीय नागरिक आफ्नो गाउँकै बजारमा किनमेल गर्न आउने गरेको सम्झना छ । ‘म दुई वर्षको हुँदा बुवाआमासँग यहाँ आएको हुँ, नवलपरासीको पक्लिहवाबाट । सानै भएकाले सुरुका वर्षहरूको याद छैन, तर पछिसम्म उनीहरू बजारमा आउने गरेको सम्झन्छु,’ उनी भन्छन्, ‘धान, मकै, गहुँ, तरकारी, नुन, मसलाहरू किनबेच हुन्थ्यो ।’