गौर, २२ कार्तिक । रौतहट बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएरको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।
संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएको र त्यसमा सख्त घाइते भएका सरुअठाका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर लगायतका व्यक्तिलाई भाइ महताब आलमको ट्याक्टरमा ओसारेर नजिकै रहेको आफन्तको इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप छ ।