रुकुम, १७ कार्तिक । जाजरकोट–डोल्पा सडक अन्तर्गतको ३५ किलोमिटर खण्ड कालोपत्र हुने भएको छ । जाजरकोटको पासागारदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको चिसापानी हुँदै राडीसम्म कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएको छ ।
दुई खण्डमा विभाजन गरी हुने कालोपत्रमा पहिलो खण्डको २८ किमीका लागि रू। १ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । दोस्रो खण्डका लागि भने रू। २१ करोड लाग्ने इस्टिमेट गरिएको कार्यालयले जानकारी दिएको छ, जसका लागि प्रदेशले चालू आवमा ८ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
आठबीसकोट नगरपालिकाकी उपप्रमुख गीता नेपालीले धेरै प्रयास र पहलपछि चिसापानी–राडी सडक कालोपत्र हुने पक्का भएको बताइन् । उनका अनुसार आठबीसकोट र जाजरकोटको नगलगाड नगरपालिकामा कालोपत्रको काम हुनेछ । सडक कालोपत्रका लागि आवश्यक कागजात तथा सिफारिश नगरपालिकाले दिइसकेको उनको भनाइ छ । जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेको लामो समयपछि कालोपत्र हुने भएको हो । सडक स्तरोन्नति नहुँदा हिउँदमा गाडी सञ्चालन भए पनि वर्षात्को समयमा सञ्चालनमा कठिनाइ हुने गरेको थियो ।