काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो।
दाहालले सोमबार र आइतबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। ती छलफलका विषयमा उनले नेपाल र श्रेष्ठलाई अवगत गराउँदै अब कसरी प्रस्तुत हुने भन्ने सुझाव मागेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाँदै छन्। त्यसअघि सम्भवतः दुई अध्यक्षबीच बुधबार ‘वान अन वान’ छलफल हुनेछ। ओलीसँग स्थायी समिति बैठक (सकभर केन्द्रीय समितिकै बैठक) तत्काल बोलाउने विषयदेखि समझदारी कार्यान्वयन, दुई अध्यक्षकै बीचमा सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँडलगायतमा अडान राख्न दाहाललाई नेपाल र श्रेष्ठले छलफलमा सुझाएको स्रोतले बतायो अन्नपूर्ण पोष्टमा खबर छ।