काठमाडौं, ५ कार्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो।
ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ ९बेल्ट एन्ड रोड इनिसिएटिभ० र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन। विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन्। ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।
ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’
ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहँुदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए। अन्नपूर्णसँगको अन्तर्वार्ताका क्रममा ओलीले भनेका थिए, ‘कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ। कुनै असन्तुष्टि हुन सक्छ। त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन। नकारात्मकताको मौसम चलेको छ भन्दैमा त्यतै लागेर निराशाको कुरा गर्नु हुँदैन।’ अन्नपूर्ण पोष्टबाट