काठमाडौं, ३ कार्तिक । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुख छान्न संसद्को हिउँदे अधिवेशन निर्धारित समयभन्दा एक महिना पहिले नै बोलाउने गृहकार्य सुरु भएको छ । उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी ओलीलाई अघिल्लो आइतबार भेटेर निर्वाचन प्रक्रियाबारे छलफल गरेलगत्तै हिउँदे अधिवेशन छिटो बोलाउने तयारी थालिएको हो ।
महराको राजीनामालगत्तै उपसभामुख तुम्बाहाम्फेले सो पद रिक्त रहेको भन्दै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेकी थिइन् । पत्राचारपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेर परामर्श गरिसकेकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि भेटेर निर्वाचन प्रक्रियाबारे परामर्श गर्ने तयारी उपसभामुख तुम्बाहाम्फेले गरेकी छिन् । संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले हिउँदे अधिवेशन प्रारम्भ नभई सभामुख चयन प्रक्रिया सुरु नहुने बताए । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । नयाँ पत्रिकाबाट