Indrenionline.com

‘तिमी’ भन्ने भन्दै ओली पत्रकारसँग रिसाए

काठमाडौं, ३० असोज । मिडियाले उच्च आदरार्थी शब्द ‘तपाईं’, ‘हजुर’ प्रयोग नगरेको भन्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले मर्यादापालन नगरेको टिप्पणी गरे । उनले ‘सानालाई तिमी र ठूलालाई तपाईं’ भन्ने नेपाली समाजको प्रचलन भएको जिकिरसमेत गरे । मिडियाले समाचारमा सबैलाई समान आदरार्थी ‘तिमी’ प्रयोग गरेकोप्रति प्रधानमन्त्रीको यो दोस्रोपटकको आक्रोश हो । विज्ञहरूले प्रधानमन्त्रीको यस्तो आक्रोशलाई ‘अतिरिक्त सम्मान खोज्ने आकांक्षा’का रूपमा अथ्र्याएका छन् ।

प्रधानमन्त्री ओलीको परिचय नै आलोचक र विरोधीहरूप्रति कठोर र निर्मम अभिव्यक्ति दिने नेताका रूपमा बनेको छ । तर, सत्तारुढ भइसकेपछि विरोधी समूह र विपक्षी दलप्रति मात्रै होइन, स्वतन्त्र मिडियाप्रति पनि उनी वेलावेला रुष्ट र कठोर देखिने गरेका छन् । मंगलबारको उनको आक्रोश त्यसैको पछिल्लो कडी बनेको छ । मिडियाको स्वतन्त्र भूमिका खुम्च्याउने गरी तयार गरिएको ‘मिडिया काउन्सिल विधेयक’बारे बोल्दा पनि प्रधानमन्त्रीले मिडियालाई नियमन गर्नुपर्ने भन्दै जानीबुझी विधेयक ल्याएको बताएका थिए ।

पत्रकारहरूले चौतर्फी रूपमा विधेयकको विरोध गरिरहेका वेलामा प्रधानमन्त्री ओलीले सरकारले सोचिविचारी त्यसलाई अघि बढाएको प्रतिक्रिया मात्रै दिइरहे । समाजलाई सभ्य बनाउन विधेयक ल्याएको भन्दै संसद्भन्दा अघि गएर विरोध नगर्न उनले चेतावनी दिएका थिए । मिडियाप्रतिको उनको आक्रोश वेलावेला झल्किने गर्छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको चीन र दक्षीण एसिया साहित्य सम्मेलनको उद्घाटनमा बोल्दै उनले भाषा–संस्कृतिको सन्दर्भमा आदर–अनादर प्रसंग उठाएका हुन् ।

ओलीले विशष गरी पत्रपत्रिका र टेलिभिजनमा प्रयोग गरिने भाषाप्रति असन्तुष्टि जनाए । ओलीले भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वाभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, मर्यादा हुन्छ ।’ अंग्रेजीको ‘यू’ भन्ने शब्दको लोभ गरेर आफ्नो बाउलाई पनि तपाईं भन्न गाह्रो भइरहेको ओलीको भनाई थियो । पैसावाला, डलरवाला, युरोवालाले काम चलाएको ‘यू’ नै सभ्यता रहेछ भन्ने भ्रम परेको समेत उनले चर्चा गरे ।

३ असारमा ओलीले भनेका थिए– सबैलाई तिमी भनेर नेपाली भाषाको मर्म बिगार्ने रु ‘तिमी’ र ‘तपाईं’को प्रयोगलाई लिएर प्रधानमन्त्री ओलीले पत्रकारलाई कटाक्ष गरेको यो पहिलो उदाहरण होइन । यसअघि पनि उनले यस्तै सन्देश दिने खालको धारणा राखेका थिए । गत ३ असारमा प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन थियो । प्रतिपक्षको अवरोधका कारण संसद्मा बोल्न नपाएपछि उनले पत्रकार सम्मेलन गरेरै आफ्ना भनाइ राखेका थिए । त्यहाँ उनले भनेका थिए– ‘सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबुबालाई पनि तिमी । सबैलाई तिमी भन्छन् । यो त नेपाली भाषाको मर्मविपरीत भयो ।’ नयाँ पत्रिकाबाट