विराटनगर, २७ असोज । दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर(११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी ९बहरदार० को जोगवनीमा हत्या भएको हो।
जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन्। रञ्जनाका माइती पक्षले भारतीय प्रहरी समक्ष पक्राउ परेका चार जना विरुद्ध ज्यान मुद्दा दर्ता गराएका छन्। उनिहरुमाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगवनी प्रहरी थाना प्रमुख अहमदले बताए।
यस्तो छ हत्याको कारण
रञ्जनाको गत फागुनमा भारत अररिया ताकियाका २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो। विवाहमा माइतीले थोरै दाइजो दिएको भन्दै सोही समय देखी बहरदार परिवारले छोरीलाई मानसिक र शारीरिक यातना दिनेगरेको रञ्जनाका बुबा मनिकचन्द सहनीले बताए। ‘छोरीलाई विवाहपछि दाइजोको कुरामा धेरै यातना दिएछन्, घरमा रुदै सुनाउथी, अहिले हत्या गरेर फालेछन्,’ सहनीले भने।
छोरीलाई दैनिक यातना दिएपछि माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएको सहनीले बताए। ‘हामीले केही दिन अघि मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, फेरि छोरीका सासु ससुरा र श्रीमानले दुई लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो,’ उनले भने। पछिल्लो माग गरेको दुईलाख नदिएकै कारण रञ्जनाको हत्या भएको रञ्जनाका हजुरबुबा उमालाल सहनीले बताए। ‘हामीले सकेका जति दिएका थियौ, मोटरसाईकल पछि पुन पैसा मागे दिन सकिएन, अहिले हत्या गरेर फालेको सुने,’ उमालालले भने।
हत्या गरेर खोलामा फालेपछि आफुहरुलाई हराएको भन्दै खबर गरेको रञ्जनाका बुबा मनिचन्द्रको भनाइ छ। ‘हत्या गरेर फालेछन्, अनि हराइ भनेर खबर गरे, त्यतिखेरै मारेर फाले भन्ने त शंका लागेको थियो,’ उनले भने। अन्नपूर्ण पोष्टबाट