Indrenionline.com

युरेसियन देशका सभामुखहरुको बैठकलाई सभामुख महराको सम्बोधन

अस्ताना (कजाखस्तान), ८ असोज । सभामुख कृष्णबहादुर महराले यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गरेका छन् । ग्रेटर यूरेशियाः संवाद, भरोसा, साझेदारीको मूल नाराका कजाखस्तानको अस्तानामा शुरु भएको बैठकमा आज सभामुख महराले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका हुन् ।

सभालाई सम्बोधन गर्नुहुँदै सभामुख महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताए । नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको बताउँदै सभामुख महराले भने, ‘नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।’

अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताए । उनले भने, ‘यूरोप र एशियाका देशहरूबीचको सहकार्यले विश्वलाई शान्ति, दिगोपन र आर्थिक विकासतर्फ पु¥याउने छ । ग्रेटर युरेशियाको दर्शन फराकिलो, दूरदर्शी र महत्वपूर्ण छ ।’

‘ग्रेटर यूरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्तिमय, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले भन्नुभयो, ‘समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसंख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जीडीपीको प्रतिनिधित्व गर्दछ ।’