काठमाडौं, ५ असोज । नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
उनले उक्त निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिँदा पराजित हुन सक्ने भय पनि व्यक्त गरे। ‘यसअघि प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विधितै छ।
उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो’, उनले भने, ‘तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरू कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्नसक्नु हुनेछ।’
उनले स्थानीय नेतालाई निर्वाचनमा भाग लिन पहिलो हक भएको बताएका छन्। यदी स्थानीय नभए कास्कीलाई कार्यक्षेत्र बनाएर काम गर्ने नेतालाई टिकट दिनुपर्ने अडान लिएका छन्। अन्नपूर्ण पोष्टबाट
