सल्यान, २६ भदौ। सल्यानका विभिन्न स्थानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन् । किसानहरूले बारीबाटै सीधै व्यापारीलाई तरकारी विक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना अलपत्र पर्न थालेको बन्गाड कुपिन्डे नगरपालिकाका कृषक तुंगबहादुर बुढाले बताए । ग्रामीण कृषि सडक निर्माण भएपछि व्यापारीहरू कृषकको बारीमा नै तरकारी संकलनका लागि आउने गरेका छन् ।
२० वर्षअघि शारदा नगरपालिका–८, मार्के नाउलामा बनाएको कृषि संकलन केन्द्रको अवशेष मात्र रहेको स्थानीय जुद्धबहादुर बुढाथोकीले बताए । उनका अनुसार गाउँ नजीकै निर्माण गरिएको अर्को पक्की टहरो पनि बेवारिसे अवस्थामा पुगेको छ । ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रूपमा सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो, तर सबैतिरबाट बेवास्ता हुँदा सरकारी रकमको दुरुपयोग भएको छ,’ उनले भने ।
यस्तै, बन्गाड कुपिन्डे नगरपालिका–११, ढोरपिपलमा २०७४ सालमा रू। ६ लाखको लागतमा निर्माण भएको कृषि संकलन केन्द्र स्थानीयलाई सामग्री राख्ने स्थलमा परिणत भएको छ । संकलन केन्द्र निर्माण भएको ५र६ महीना सञ्चालनमा आए पनि अहिले प्रयोगविहीन रहेको स्थानीय अमर परियारले बताए ।
तरकारी संकलन केन्द्र बन्छ भनेर आफूले जग्गादान गरेको तर अहिले जग्गा खेर गएको महसूस भएको उनको भनाइ छ ।
अहिले जिल्लामा निर्माण गरिएका अधिकांश कृषि संकलन केन्द्र प्रयोगविहीन हुँदा राज्यको करोडौं लगानी खेर गएको छ अभियानमा खबर छ। कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निर्माण गरिएका कृषि संकलन केन्द्रहरू मात्र प्रयोगमा आउन सकेको कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाको कालिमाटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका स्थानमा निर्माण गरिएका दर्जनभन्दा बढी कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन् ।