काठमाडौं, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ।
ललिता निवास प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जनाए। अनुसन्धानमा जोसुकै परे पनि नछाडिने उनले स्पष्ट पारे। उनले वाइडबडी प्रकरणमा पनि अनुसन्धान भइरहेको उनले सुनाए। उनका अनुसार शिक्षा क्षेत्रको अवस्था भयावह छ। ‘प्राध्यापक नै स्टिङ अपरेसनमा परेका छन्’, उनले भने, ‘कसैलाई गोल्ड मेडलिस्ट हुने रहर चल्छ। त्रिविका कर्मचारी घुस खाएर त्यस्तै गरिदिन्छ। यसले हाम्रो शिक्षा क्षेत्रलाई कहाँ पुर्याउँछ रु ’
उनका अनुसार ५० भन्दा बढी अलपत्र ठेक्काको अनुसन्धान भइरहेको छ। अलपत्र ठेक्का संख्या भने १ हजार ८ सय ४८ छ। यसबाट १ खर्ब १८ अर्ब रकम जोखिममा छ। २४ अर्ब रुपैयाँ मोबिलाइजेसनबापत ठेकेदारले लगेका छन्। ‘चार महिनाका लागि ठेक्का भएको छ तर आठ वर्षसम्म पनि काम सकिएको छैन’, उनले भने, ‘विकास निर्माणको हेलचेक्र्याइँको भयावह तस्बिर छ। सबैको अनुसन्धान त सम्भव छैन तर हामीले ५० भन्दा बढीको अनुसन्धान गरिरहेका छौं।’
६८ जना एकै दिन हिरासतमा
उनका अनुुसार ६८ जनालाई एकै दिन अख्तियारको हिरासतमा राख्नुपर्यो। प्रहरी बस्ने ठाउँसमेत खाली गरेर थुनुवालाई राख्नुपरेको खुलासा उनले गरे। ‘हामीले थुनुवालाई बाहिर प्रहरी कार्यालयमा पनि पठाएका छौं’, उलने भने। स्टिङ अपरेसनमा पक्राउ परेका र अनुसन्धानका सिलसिलामा अख्तियारले हिरासतमा राख्ने गरेको छ आजको अन्नपूर्ण पोष्टमा खबर छ।
गत आर्थिक वर्ष सबैभन्दा बढी ३ सय ५१ मुद्दा विशेष अदालतमा दर्ता गरिएको उनले दोहोर्याए। अख्तियारले १ सय ४२ वटा स्टिङ अपरेसन गर्यो। प्रमुख आयुक्तकै निगरानीमा र्यापिड एक्सन फोर्स बनाएर सेवाग्राहीकै भेषमा अख्तियारका कर्मचारी देशभर खटिएका छन्। १५ जना टिमले देशभर अनुसन्धान गरिरहेको छ। अख्तियारका काम सोचेजति उत्साह पद हुन नसकेको स्वीकार उनले गरे।