काठमाडौं, २४ साउन । दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ ।
‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ ।
वर्षौँदेखिको ताकेता
हेलोले चार आर्थिक वर्षदेखिको फ्रिक्वेन्सी दस्तुर बुझाएको छैन । आर्थिक वर्ष ०७२र७३ देखि ०७५र७६ सम्मको दस्तुर बुझाउन बाँकी छ । प्राधिकरणले सुरुदेखि बक्यौता बुझाउन ताकेता गरे पनि हेलोले विभिन्न बहाना देखाउँदै आएको छ ।
हेलोले यसअघि भिस्याटबापतको २७ लाख रुपैयाँ पनि तिर्न अटेर गरेको थियो । तर, प्राधिकरणले लाइसेन्स रद्द गरिदिने चेतावनी दिएपछि गत जेठमा भिस्याटबापतको शुल्क बुझाएको थियो ।