काठमाडौं, १ साउन । सरकारले आर्थिक वर्षको अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयले मंगलबार साँझ ७ बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारदेखि तीन दिनमा ४६ हजार वटा चेक काटिएका छन्।
यस आर्थिक वर्षदेखि सरकारका भुक्तानीमा विद्युतीय प्रणाली अवलम्बन गरिए पनि विद्युतीय भुक्तानी प्रभावकारी नभएकाले चेकमार्फत नै भुक्तानी गर्नुपरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले बताए।
विद्युतीय भुक्तानी प्रणाली लागू भएकाले आर्थिक वर्षको अन्तिम दिनसम्म भुक्तानी दिने व्यवस्था गरिएको हो। विद्युतीय भुक्तानीले यथार्थ समयमा रकम भुक्तानीको विवरण प्राप्त हुने भएकाले आर्थिक वर्षको अन्तिमसम्म भुक्तानी दिने छुट दिइए पनि विद्युतीय भुक्तानी प्रणाली अवरुद्ध हुँदा चेकमार्फत नै भुक्तानी दिइएको हो।
विद्युतीय भुक्तानी सुरु हुनुअघि आर्थिक वर्ष समाप्त हुन चार–पाँच दिनअघि नै चेक काट्न बन्द गर्ने चलन थियो।