काठमाडौंँ, ३ असार । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन ।
काँग्रसको विरोध जारी रहेकै समयमा प्रधानमन्त्री ओली वक्तव्य दिन रोष्ट्रम पुग्नुभएको थियो तर निरन्तरको विरोध र नाराबाजीपछि सभामुखले बैठक स्थगन भएको घोषणा गरे । आजको बैठकमा विनियोजन विधेयकमाथि जारी छलफलमा तीन मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि चार वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कायूसूची पनि प्रभावित भएको छ ।
आजको बैठकमा सांसद डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटमा रु एक कायम गर्नेदेखि रु १०० सम्म घटाउनेसम्मका खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । रासस