Indrenionline.com

गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं, २३ जेठ। आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको बताइएको छ ।

बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरिएको हो ।

‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन बताए’’, वक्ता नारायणकाजी श्रेष्ठले भने ‘‘ त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो ।’’

अर्काे बैठक प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र बस्ने नेकपाले जनाएको छ ।