Indrenionline.com

नेकपा एकताको गाँठो : शीर्ष नेताहरु आ-आफ्नै अडानमा

काठमाडौं, २३ जेठ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता आ–आफ्नै अडानमा अडिग भएपछि जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने भनिएको थियो । तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आ–आफ्नो अडान नछाडेपछि टुंगो लाग्न नसकेको हो । मंगलबार बसेको सचिवालय बैठक विवादकै कारण स्थगित भएको थियो ।

मापदण्ड विषयमा देखिएको विवाद समाधान गरी बुधबार टुंगो लगाउने नेताहरूले बताएका थिए । तर, विवाद समाधान हुन नसक्दा जिल्लाको इन्चार्ज र सहइन्चार्ज बिहीबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताइएको छ ।

एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेताबीच विवाद भएको छ । एकता टुंगो लगाउन पटकपटक बसेको शीर्ष नेताको छलफल मापदण्डका विषयमा सहमति हुन नसक्दा टुंगो लाग्न नसकेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार बस्ने सचिवालय बैठकबाट केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लाग्ने बताए । इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने विषयमा गम्भीर छलफल भएको बताउँदै बिहीबार बस्ने सचिवालय बैठकले टुंगो लाग्ने उनले बताए ।
‘भोलि बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउनेछ,’ श्रेष्ठले भने ।

नेकपा स्रोतका अनुसार जिल्ला इन्चार्ज तथा सहइन्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ राजधानाीमा खबर छ। तर, पटकपटक छलफल भए पनि सहमति जुटन नसक्दा सचिवालय बैठक कुनै निर्णय नै नगरी स्थगित भएको स्रोतले जनाएको छ ।