Indrenionline.com

रोल्पाली किसानले उत्पादन गरेको लसुनले मूल्य पाएपछि……….

रोल्पा, १७ जेठ। यस वर्ष लसुनले राम्रो मूल्य पाएपछि रोल्पाका किसान हर्षित भएका छन् । गतवर्ष थोरै मूल्यमा विक्रि गर्न बाध्य यहाँका किसानले यसवर्ष भने प्रतिकेजी ७० देखि ९० रुपैयाँसम्म लसुन विक्री गरेका छन् ।

जिल्लाको बुढागाउँ, नुवागाउँ, झेनाम, डुब्रिङ र सखी लगायतका किसानले यस वर्ष लसुनको राम्रो मूल्य पाएको प्रतिक्रिया दिए । ‘गत वर्ष खासै भाउ बढेको थिएन,’ त्रिवेणी गाउँपालिका–४, बुढागाउँका किसान बिमल घर्तीले भने, ‘यस वर्ष राम्रो मूल्य गएको छ ।’ यो वर्ष डेढ लाख रुपैयाँभन्दा धेरै आम्दानी हुने उनको अनुमान छ ।

मसलाको रुपमा प्रयोग हुने लसुन शहरका ठूला होटेलहरुमा धेरै खपत हुने गर्दछ । यहाँ उत्पादित लसुन गुणस्तरीय हुने हुँदा बजार खोज्नका लागि किसानहरु कतै जानु नपरेको त्रिवेणी गाउँपालिका–४, चक्रीका किसान रोबर पुनको भनाइ छ । दाङ, नेपालगञ्ज, बुटवलदेखि महेन्द्रनगरसम्मका व्यापारीहरु लसुन खरीद गर्न गाडी लिएर गाउँमै आउने गरेका छन् ।

तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रका युवाहरुले गाउँमै व्यावसायिक रुपमा लसुन तथा अन्य तरकारी खेती गर्दै आएका छन् । रोल्पामा हाल ६५ हेक्टर क्षेत्रफलमा वार्षिक ६०० मेट्रिक टन लसुन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र रोल्पाले बताएको छ अभियानमा खबर छ। लसुन खेतीलाई थप विस्तार गर्न यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत सञ्चालन भइरहेको छ ।