काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ ।
यसबारे कांग्रेसको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।
‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’
गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो ।
पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ । छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् ।