Indrenionline.com

इद पर्वको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, असार २३ 
अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् । खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष्भित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ ।

यसलाई जकात भनिन्छ । विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फितरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।।