शुभकामनाको पुर्ण पाठ
नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोंच, चिन्तन र विचारको विजारोपण होस् र प्रगतिपथमा लम्किन सबैलाई सफलता मिलोस्, भन्ने कामना पनि गर्दछु ।
आजदेखि हामीले वि.सं. २०७५ साललाई विदा गरेका छौं । संघीय संसदले वि.सं. २०७५ सालमा मौलिक हक सम्बन्धी ऐन निर्माण गर्नुका साथै संविधानसँग बाझिएका थुप्रै ऐन, कानूनहरु संशोधन गरी संविधानलाई पूर्णता दिने वर्षका रुपमा बिताएको छ । राष्ट्रले यो वर्ष स्थायी शान्ति, दिगो विकास र समृद्धिको यात्रामा अघि बढ्ने आधार तयार गरेको छ । यहीँ आधारमा टेकेर नयाँ वर्षमा राष्ट्रले सामाजिक रुपान्तरण, विकास र समृद्धिको यात्रामा द्रुत गति पैदा गर्नेछ र सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारालाई सार्थक बनाउनेछ । नेपाली जनताको लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन प्रणालीलाई सुदृढ गर्दै विकासको मार्गमा लम्किन वि.सं. २०७६ साल सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
नयाँ वर्ष वि.सं. २०७६ सालले नेपाली–नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावनाको विकास हुनुका साथै लोकतन्त्र, राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, नयाँ वर्षको यहीँ हार्दिक शुभकामना व्यक्त गर्दछु ।
