कतार (दोहा), २४ चैत । सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए । उनले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताए ।
‘समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण छ, सभामुख महराले भने, ‘यसका लागि नेपाल–कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ ।’
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्नुहुँदै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराएका थिए ।
छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको सभामुख महराले बताए ।