Indrenionline.com

४० वर्षपछि खानेपानी आयोजना सम्पन्न

सल्यान, १९ चैत । सल्यानमा ४० वर्षअघि पहल थालिएको खानेपानी आयोजना बल्ल सम्पन्न भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका–२ बराढुंगामा हालै खानेपानी आयोजना सम्पन्न भएको हो ।

बराढुंगा बहुउद्देश्यीय पानी प्रणालीमार्फत गाउँमा खानेपानी सुविधा पु¥याइएको हो । विगतमा खानेपानीका लागि घण्टौं हिँडेर पानीको स्रोत धाउने गरेका स्थानीय बासिन्दा आयोजना बनेपछि लाभान्वित भएका छन् । ‘पानी बोक्दैमा बिहान बित्थ्यो,’ स्थानीय शिवलाल वलीले भने, ‘अहिले घरआँगनमै पानी आएपछि घरायसी कामकाजदेखि तरकारीमा सिँचाइ गर्न समेत सहज भएको छ ।’

२०३६ सालदेखि नै खानेपानी योजना निर्माणका लागि पहल गरेको भए पनि कुनै पनि निकायले सहयोग नगर्दा यसअघि जीवनयापनमा कठिनाइ भएको उनको भनाइ छ ।

२९ घरधुरी भएको उक्त गाउँमा खानेपानी आएपछि स्थानीयको आयआर्जन समेत बढेको छ । पानी बोक्ने समय बचेपछि उनीहरूले आफ्नो काममा बढी समय दिन पाएका छन् अभियानमा खबर छ। बचेको पानीले आफूले तरकारीखेती समेत गर्दै आएको स्थानीय भिमीकुमारी वलीले बताइन् । ‘एकाबिहानै उठेर पानीका लागि लाम लाग्न नपरेपछि हाइसञ्चो भएको छ,’ उनले भनिन्, ‘अब यस्तो दुःख गर्ने दिन गए जस्तो लागेको छ ।’ गाउँमा पानीको सुविधा पुगेपछि सरसफाइमा समेत सुधार आएको पाइन्छ ।

दलित विकास समाज सल्यानसँगको साझेदारीमा सञ्चालित पहल कार्यक्रमको ४ लाख ९७ हजार, कालीमाटी गाउँपालिकाको १ लाख ५० हजार र स्थानीयको ५ लाख ३१ हजार रुपैयाँबराबरको जनश्रमदानबाट आयोजना सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष केशव वलीले बताए । योजनाको संरक्षण तथा व्यवस्थापनका लागि दिगो मर्मत सम्भार कोष समेत स्थापना गरिएको उनले जानकारी दिए ।