काठमाडौँ, १५ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन् ।
उनले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, मेहनती युवा जनशक्ति र सस्तो श्रम शक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रष्ट पारे ।
लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको, नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले २०० मेगावाट माथिका आयोजना र रु छ अर्बमाथिका परियोजनालाई सहजैरुपमा लगानी गर्नसक्ने अवस्था सिर्जना गरिएको तथ्य पेश गरे ।
उनले अन्तरदेशीय प्रशारण लाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजान सक्ने वातावरण निर्माण भएको, नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए । लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै उनले सबै प्रकारका सेवा सहजरुपमा दिइनेसमेत स्पष्ट पार्नुभयो । उनले भने, “यस सम्मेलनले लगानीकर्तालाई लगानीका लागि महत्वपूर्ण अवसर सिर्जना गर्छ भन्ने विश्वास लिएको छु ।”
विदेशी लगानीका एनसेल, युनिलिभरजस्ता बहुर्राष्ट्रिय कम्पनीले नेपालमा उच्च मुनाफा हासिल गर्ने गरेको भन्दै उहाँले सरकार र निजी क्षेत्रले प्रस्ताव गरेका ७७ वटा परियोजनाबाट समेत उच्च प्रतिफल लिन सकिने प्रष्ट पारे । उनले पूरातात्वविक सम्पदा, पूराना कलाकौशल संसारकै १० मध्ये आठ अग्ला हिमशृङ्खला नेपालमै रहेकाले पनि पर्यटन क्षेत्रमा लगानी गर्न सकिने छ भने । रासस