काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाठकसहित उनलाई घुस दिने कलेज सञ्चालक लम्बोदरकुमार न्यौपानेलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘दुवैजनालाई ७८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ,’ प्रवक्ता कोइरालाले भने, ‘तर, सजायको माग दाबी भने फरक–फरक छ ।’ न्यौपानेलाई ८ वर्ष कैद माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० ‘ज’मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही ऐनका दफा २४ मा संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने उल्लेख छ ।
सोहीअनुसार पाठकविरुद्ध ११ वर्ष कैद, ७८ लाखको सम्पत्ति जफत र ७८ लाख जरिवाना माग गरिएको छ । १०–२० हजार घुस लिनेलाई अख्तियारले करिब महिना दिनसम्म थुनामा राखेर मुद्दा चलाउने भए पनि पाठकलाई भने फरार अभियुक्तका रूपमा मुद्दा दायर गरी केही सहुलियत प्रदान गरेको छ । नयाँ पत्रिकाबाट