काठमाडौं, १२ चैत। नेपाल सरकार र जापान सरकारबीच दक्ष नेपाली कामदार पठाउनेसम्बन्धी सहयोग र समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार राजधानीमा सम्पन्न समझदारी कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच हस्ताक्षर भएको हो ।
सोही व्यवस्थाबमोजिम नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए पनि कुन कुन क्षेत्रमा कति संख्यामा नेपाली श्रमिकको माग हुने भन्ने निश्चित नभएको मन्त्रालयले जनाएको छ ।
जापानमा निश्चित दक्ष कामदारअन्तर्गत पहिलो वर्ग र दोस्रो वर्गका श्रमिक लिइनेछ । पहिलो वर्गका श्रमिकका लागि सीप वा सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकका लागि उच्च सिप आवश्यक पर्ने र त्यस्ता श्रमिक बढीमा पाँच वर्षसम्म जापानमा बस्न पाउने प्रावधान रहेको छ ।
यसैगरी, दोस्रो वर्गका कामदारका लागि उच्च तहको सिप आवश्यक पर्ने र त्यस्ता श्रमिकको कार्यावधि थप गर्न सकिने र श्रमिकका परिवारलाई समेत जापान लैजान सकिने प्रावधान रहेको छ ।
यस समझदारीपत्रमा जापानी कानुनबमोजिम रोजगारीका सेवा, सुविधा एवं सर्तहरूमा जापानी नागरिकसरह समान व्यवहार थर्ने व्यवस्था सुनिश्चित गरिएको छ । नेपाली र जापानी श्रमिकको पारिश्रमिक समान हुनेछ ।