बाँके, ८ चैत। भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रूपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जनभन्दा बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।
१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् । भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्यांकर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, ‘ट्यांकर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौं ।’
उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्यांकर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ । रासस