काठमाडौं, १ चैत । दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ ।
पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् ।
‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन । तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ । अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।’ नयाँ पत्रिकाबाट