काठमाडौं, २९ फागुन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अपराधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको छ। मंगलवार साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारी निर्णय अनुसार उक्त समूहले अब कुनै पनि गतिविधि गर्न पाउने छैन। राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको स्रोतको दाबी छ।
पछिल्लो समय प्रधानमन्त्री ओली विप्लवप्रति आक्रामक देखिएका थिए। यस्तै, सोमवार संसदमा गृहमन्त्री थापाले विप्लवमाथि प्रतिबन्ध लगाइने बताएका थिए। गृहमन्त्री थापाले सरकारी वार्ता समितिको प्रस्ताव विप्लवले अस्वीकार गरेको, उक्त समूहका पछिल्ला गतिविधि, एनसेल प्रधान कार्यालय लगायत स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे संसदमा जानकारी गराएका थिए।