जनकपुरधाम, २७ फागुन । अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो।
राउतले पृथक्तावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिए पनि उनका कार्यकर्ताले पुरानो नारा छाडेका छैनन्। मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकले स्वतन्त्र मधेसको नारा लगाएका थिए। कार्यकर्ताहरू ‘नेपाली उपनिवेश मुर्दाबाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताले दस्ता खटाएका थिए। राउतको निजी सुरक्षा दस्तामा रहेका ८ कार्यकर्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चस्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थलमा उभिएका थिए। अन्नपूर्ण पोष्टबाट