नेपालगञ्ज, फागुन १७ गते । बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।
सीमा नाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न सङ्घ संस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।
“बाँके जिल्लामा लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”, बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलको भनाइ छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेले ३०० बढी लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको प्रहरी उपरीक्षक अरुण पौडेल बताए ।
नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म करीब १५० लागुऔषध दुव्र्यसनीको पुनःस्थापना गरेको छ । हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीका अनुसार, सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ । रासस