Indrenionline.com

पाँच करोड लगानीमा पाईप उद्योग

नेपालगन्ज, २९ माघ । आर्थिक आम्दानीका लागि युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला बाँके कोहलपुरका चार जना युवाले स्वदेशमै केही गर्नुपर्छ भनेर ठूलो लगानीमा युपीभिसी उद्योग सञ्चालन गरेका छन् ।

कोहलपुरका चार युवाहरू सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मीको सामुहिक लगानीमा बाँकेको कोहलपुरस्थित बाबानगरमा पाँच करोड लागतमा नेपाल ग्रीन जोन प्रालि सञ्चालनमा आएको छ कारोवारमा समाचार छ । सो प्रालिले अहिले नयाँ प्रविधिमार्फत युपीभीसीका विभिन्न सामाग्री उत्पादन गर्ने प्रालीका अध्यक्ष सरोज हमालले बताए ।

युपीभीसी अर्थात् अनप्लास्टिक साइज्ड पोलिभिन्याल क्लोराइड एक विशेष प्रकारको प्लास्टिक भएकोले यसबाट निर्माण गरिने झयाल, ढोकाको ३० बर्षसम्म ग्यारेन्टी भएको अध्यक्ष हमालले जानकारी दिए । उनले भने, “जुन निकै हलुका भए पनि बलियो हुन्छ ।”

युपिभिसीलाई जस्तोसुकै घरका लागि आवश्यक पर्ने जस्तोसुकै झ्याल–ढोका निर्माणमा प्रयोग गर्न सकिने अर्का सञ्चालक सनत रेग्मीले बताए । आलमोनियम र फलामको ढोकाबीचको विकल्पका रूपमा यसलाई लिन सकिने भएकाले काठका फर्निचर वा झ्याल, ढोकाको तुलनामा यो बढी टिकाउ र बलियो हुनुका साथै आकर्षक पनि हुने रेग्मीले बताए ।