काठमाडौं, २९ माघ । नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो ।
अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो ।
यसरी तत्कालीन विनिमय दरमा ढुकुटीको एक अर्ब ६३ करोड रुपैयाँ विनाप्रतिस्पर्धा खर्च भयो । यसमा महालेखापरीक्षकको प्रतिवेदनले आपत्ति जनाएको छ । तर, कारबाही कुनै निकायबाट पनि भएको छैन आजको नयाँ पत्रिकामा खबर छ । हेलिकोप्टर किन्न सरकारले दिएको कुल बजेटबाट पाँच करोड रुपैयाँ बचेको देखाइयो ।
लगत्तै त्यही हेलिकोप्टरको क्षमता बढाउनुपर्ने भन्दै ३ लाख ८६ हजार युरोको सामान खरिद गर्ने निर्णय भयो । आवश्यक क्षमता भएको हेलिकोप्टर किन्नुको सट्टा पहिले किनेर फेरि सामान थपिएकोमा महालेखाले प्रश्न गरेको छ ।