सिन्धुपाल्चोक, २२ असार
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुर्याएको छ।
नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पुर्याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ। तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताए।
हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ। अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए।
गएराति एक्कासि नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ। रासस लाई उद्दृत गर्दै सेतोपटी मा खबर छ ।