Indrenionline.com

सदरमुकाम विवाद चर्कदै गएपछि रुकुमकोटमा कफ्र्यू

रुकुम (पूर्व), २१ माघ । सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा विवाद बढेपछि रुकुम पूर्वको सदरमुकाममा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिए पनि कार्यक्रम जारी राख्ने देखिएपछि स्थिति सामान्य बनाइ राख्न तथा शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

गोलाखाडामा सदरमुकाम कायम गर्ने तत्कालिन सरकारको निर्णय कार्यान्वनयको माग गर्दै गोलखाडा समर्थितले रुकुमकोटमा आएर प्रदर्शन गर्ने तयारी गरेपछि रुकुमकोट केही दिनदेखि तनावग्रस्त बनेको छ । शनिबार र आइतबार दुवै पक्षसंग छलफल भएपनि कुनै निष्कर्ष निष्कन सकेन । सर्वोच्चमा विचाराधिन रहेको मुद्दाको विषयमा आन्दोलन गरेर थप दुर्घटना ननिम्त्याउन आग्रह गरिएको प्रजिअले बताए ।