Indrenionline.com

प्रतिपक्षको प्रतिरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।

प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो ।

यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिए ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो छलफल, रस्साकस्सी र बहसपछि बहुमतका आधारमा अघि बढाइएको उक्त विधेयकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको सहमतिको पूर्णरुपमा पालना हुनुपर्ने माग गर्दै सहमतिविपरीत विधेयक अघि बढाइएमा विरोध गर्ने चेतावनी दिँदै आएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते अपराह्न १ बजे बस्नेछ । रासस