Indrenionline.com

राष्ट्रिपति, उपराष्ट्रिपति र प्रधानमन्त्रीको माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गरिएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गरेकी छन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताएका छन् । माघेसङ्क्रान्तिका अवसरमा उनले आज एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताएका छन् । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताएका छन् ।