Indrenionline.com

प्रहरी अभियान : ३७ बिघामा लगाएको गाँजाखेती नष्ट

सिन्धुली, २७ पुस । प्रहरीले सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा यो अभियान चलाएको हो ।

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

अहिलेसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए । मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ ।

गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो ।